काठमाडौं ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन् । साउदी अरेबियाको क्लब अल नसरमा सम्भावित अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो रियाद पुगेका हुन् ।
३७ वर्षीय रोनाल्डोलाई अल नसरले कीर्तिमानी मूल्यको अफर गरेको छ । नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको हो । म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् ।
रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो । फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको अल नासर क्लबले मात्र सम्झौताका लागि प्रस्ताव गरेको स्पेनी सञ्चारमाध्यमले खबर दिएको छ ।
खेल पत्रिका याजका अनुसार, रोनाल्डो अहिले अबु धाबीमा छन् र उनलाई साउदीको क्लबबाट मात्र सम्झौताको औपचारिक प्रस्ताव आएको छ । पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो विश्वकपअघि म्यानचेस्ट युनाइटेडबाट बिदा भएका थिए ।
आफ्ना चिर प्रतिद्वन्द्वी लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप जितेपछि रोनाल्डो क्लब स्तरमा थप उपलब्धि हासिल गर्न आतुर छन् । साउदीको क्लब अल नासरले रोनाल्डोलाई वर्षको २१ करोड २० लाख डलर दिने प्रस्ताव गरेको छ ।
तर साउदीको क्लबमा खेल्ने हो भने रोनाल्डोले आफू अब शीर्ष स्तरको खेलाडी नरहेको र संन्यास लिने बाटोमा हिँडेको सन्देश जान्छ ।
त्यसो त कतारको अल साद क्लबले पनि रोनाल्डोमा चासो देखाएको बताइएको छ । तर रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले सात नम्बरको जर्सी खुला राखेको छ ।