काठमाडौँ ।
लियोनल मेस्सीको टोली अर्जेन्टिनाले फिफा विश्वकपमा इतिहास रचेको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । यो जितपछि उनकी श्रीमती एन्टोनेला रोकुज्जोले एक भावुक नोट लेखेकी छिन् ।
लुसेल रंगशालामा भएको फिफा विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।
मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् १९८६ पछि पहिलो पटक विश्वकप जितेको थियो । यसअघि ३६ वर्षअघि महान डिएगो म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले उपाधि जितेको थियो ।
अर्जेन्टिनाले सोमबार तेस्रो पटक फिफा विश्वकपको उपाधि जितेपछि एन्टोनेलाले आफ्नो पतिको लागि इन्स्टाग्राममा भावुक नोट लेखिन्। एन्टोनेलाले लेख्छिन- “च्याम्पियन्स! मलाई थाहा छैन कसरी सुरु गर्ने.. हामी तपाईका लागि (लियोनेल मेस्सी) लागि ठूलो गर्व महसुस गर्छौं।
हामीलाई कहिल्यै हार नमान्न सिकाउनु भएकोमा धन्यवाद। अन्तिम सम्म लड्नु पर्छ। हामीलाई थाहा छ तपाईंले यी सबै वर्षहरूमा के गर्नुभयो, तपाईंले के हासिल गर्न चाहनुहुन्छ !!! जाऔं अर्जेन्टिना ।” एन्टोनेलाको पोस्ट सोशल मिडियामा भाइरल भयो र फुटबल प्रशंसकहरूले यसलाई सुन्दर पोस्ट भनेका छन।
एन्टोनेला र उनका छोराछोरी पनि फाइनल हेर्न आएका थिए:
एन्टोनेला पनि आफ्ना तीन छोराछोरीका साथ फाइनल हेर्न कतारको लुसेल रंगशालामा थिइन् । खेलपछि मेस्सीले एन्टोनेला र तीनै बालबालिका टियागो, माटेओ र सिरोलाई अँगालो हालेका थिए।
पछिल्लो दुई वर्ष मेस्सीका लागि उत्कृष्ट रह्यो । सन् २०२१ मा उनले अर्जेन्टिनालाई १९९३ पछि पहिलो पटक कोपा अमेरिका जितेका थिए। मेस्सीको यो पहिलो कोपा अमेरिकाको उपाधि थियो र अहिले टोली फिफा विश्वकप च्याम्पियन बनेको छ ।
आइतबार भएको फिफा विश्वकपको फाइनलमा मेस्सीले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराए । यसअघि खेलको पूर्ण समयमा २–२ र अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएको थियो । फाइनलमा मेस्सीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले दुई गोल गरे ।
यो विश्वकपमा मेस्सीले कुल सात गोल गरेका छन् । यसले विश्वकपमा उनको कुल गोलको संख्या १३ पुगेको छ । उनी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बने ।
मेस्सीले फाइनलमा मैदान उत्रनेबित्तिकै अर्को कीर्तिमान आफ्नो नाममा राखेका छन् । उनी विश्वकपमा सबैभन्दा धेरै खेल (२६) खेल्ने खेलाडी पनि बने। मेस्सीको यो पाँचौं विश्वकप थियो ।