काठमाडौं।
साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे ।
पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
खेलपछिको अन्तर्वार्तामा मेस्सीले अनौठो बयान दिएका छन् । फाइनल खेलपछि सन्यास लिन्छु भनेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन्यास लिने कुनै योजना नरहेको बताएका छन्। आइतबार अर्जेन्टिनालाई विश्वच्याम्पियन बनाएपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल सन्यासको योजना नरहेको जवाफ दिए।
सन्यास बारे सोधेको प्रश्नमा मेस्सीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन। अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’
यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो। ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन्। तर उनले आगामी विश्वकप भने नखेल्ने बताएका छन्।
३५ वर्षीय मेस्सी सर्वाधिक विश्वकप खेल्ने खेलाडी बनेका छन्। विश्वकपमै दुई पटक गोल्डेन बल जित्ने उनी पहिलो खेलाडी हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले गोल्डेन बल जितेका थिए।
तर उनको इच्छा अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्व च्याम्पियन बनाउनु थियो। जुन अब पूरा भएको छ।