काठमाण्डौ।
साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।
मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेसँगै मैदान मै एउटा रमाइलो दृश्य देखियो । फ्रान्सका केलियन एमबाप्पेले मोरोक्कोका अच्रफ हाकिमीको जर्सी लगाउँदै विजयी खुसियाली मनाएका छन् ।
कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोलाई २–० गोलले हराउँदै फाइनलामा स्थान बनायो । जितपछि एमबाप्पेले हाकिमीसँग जर्सी साटेर लगाए । उनले हाकिमीको जर्सी लगाएर खुसियाली मनाए । तर विश्वकपको उपाधि दौडबाट बाहिरिएको मोरोक्कोका हाकिमी भने एमबाप्पेको जर्सी लगाउँदै मैदानबाट बाहिरिए ।
हाकिमी र एमबाप्पेले व्यवसायिक फुटबल भने एउटै क्लबबाट खेल्छन् । त्यही भएर एमबाप्पे र हाकिमीबीच राम्रो सम्बन्ध छ । एमबाप्पे र हाकिमी पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।
अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।
खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।
उनी ७९ औं मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।यस अघि फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर मोरक्कोसँगको भेट पक्का गरेको थियो ।मोरक्कोले पोर्चुगललाई हराएर पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।
आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ।