काठमाडौं।
साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।
महान् फुटबलर पेलेले विश्व च्याम्पियन बनेको अर्जेन्टिना र लियोनल मेस्सीलाई बधाई दिँदै दिवङ्गत डिएगो म्याराडोना हाँसिरहेको हुन सक्ने बताएका छन्।अर्जेन्टिनालाई अन्तिम पटक सन् १९८६ मा विजेता विजेता बनाउन म्याराडोनाकै भूमिका प्रमुख थियो।
विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद अहिले पनि छ। म्याराडोनाको केही वर्षअघि मृत्यु भएको थियो।सन् २०१० को विश्वकपमा म्याराडोनाले नै अर्जेन्टिनालाई प्रशिक्षण गरेका थिए।
‘आज फुटबलले सधैँ झैँ, कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ’, हाल बिरामी रहेका पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मेस्सीले पहिलो विश्वकप जितेका छन् जसका लागि उनी योग्य थिए। बधाई छ अर्जेन्टिना, डिएगो (म्याराडोना) हाँसिरहेका छन्’।अर्जेन्टिना र मेस्सीलाई बधाई दिँदै पेलेले भने- म्याराडोना हाँसिरहेका होलान्।
पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।
तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।
अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।खेलको १०९ औं मिनेटमा मेस्सीले र खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।