काठमाडौं।
कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
२०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् ।
विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एक/एक खेलमा विजयी भएका छन् ।
सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १-० गोलले हरायो । त्यतिबेला ३६ मिनेटमा पिनेडाले गरेको गोल नै अर्जेन्टिनाको जितको आधार बनेको थियो ।
तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई हरायो । अर्जेन्टिनालाई ३-० गोलले हराउने क्रममा क्रोएसियाका रेविक, लुका मोड्रिच र र्याकेटिचले गोल गरेका थिए ।विश्वकपबाहेक यी दुई देशले थप ३ वटा खेल खेलेका छन् ।
अर्जेन्टिना र क्रोएसियाबीच सन् १९९४ मा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले ३ गोल हान्दा अर्जेन्टिनाले २ गोल हानेर हार्यो । सन् २०१४ मा भएको मैत्रीपूर्णमा अर्जेन्टिना २-० गोलले विजयी भयो ।
अहिलेसम्मका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।
खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।
त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे थियो ।