काठमाडौं।
क्रोएसियाका मिडफिल्डर माटियो कोभसिच र कप्तान लुका मोड्रिचले इटालीका रेफ्री डानियल ओर्साटोको गलत निर्णयका कारण आफ्नो टोली कतार विश्वकप २०२२ बाट बाहिरिएको आरोप लगाएका छन् ।क्रोएसिया मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो ।
गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई फउल गरेपछि पाएको पेनाल्टीमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यो पेनाल्टी निकै विवादमा पनि परेको थियो ।
सो पेनाल्टीअघि इभान पेरिसिचको प्रहार अर्जेन्टिनाका गोलकिपर इमिलियानो मर्टिनेजलाई छुँदै बाहिरिए पनि ओर्साटोले क्रोएसियालाई कर्नर दिएका थिएनन् ।‘त्यो कर्नर थिएन भन्नेमा मलाई अझै विश्वास लागेको छैन’ चेल्सीका मिडफिल्डर कोभासिचले भने‘ मलाई यो पनि थाहा छैन, पेनाल्टी किन दिइयो ? रेफ्रीको यी दुई ठूला गल्तीको सजाय हामीले पायौ ।’
‘मेरो विचारमा त्यो पेनाल्टी नै थिएन,’ मोड्रिचले भने‘ सो घटनाको एक सेकेण्डअघि मात्र हामीले कर्नर पाएका थियौ तर रेफ्रीले दिएनन् । यो पेनाल्टीले हामीलाई दबाबमा ल्यायो र खेलको स्थित नै परिवर्तन भयो । यो निर्णय अघिसम्म खेल पूर्णरुपमा हाम्रो नियन्त्रणमा थियो ।’
अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पु¥याएका थिए।
खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।
विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ।
पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।
पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।