काठमाण्डौ ।
फिफा विश्वकप कतार २०२२ को आज भएको क्वाटरफाइनल खेलमा मोरक्कोसंग १–० गोलले पराजित हुन पुग्यो । हारपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा दिएका छन् ।हारपछि रुदै बाहिरिएका कप्तान क्रिष्टियानो रोनाल्डोका बारेमा पनि प्रतिक्रिया जनाएका छन् ।
उनले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै, उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए ।
उनले भने, ‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी समर्थकहरुभन्दा निराश छौं ।’
उनले अगाडी भने, ‘हामीले अवसर पनि पाएका थियौं । ब्रुनोको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्य थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । मोरक्कोको डिफेन्स लाइन ४–५ पटक बिट गरेपनि गोल गर्न सकेनौं । फुटबलमा भाग्यको पनि जरुरत हुन्छ र त्यो आज हामीसँग थिएन । पछिल्लो खेलमा ६ गोल भएको थियो भने आज हाम्रो कुनै प्रयास सफल हुन सकेन ।’
‘हामीले फाइनल पुग्ने मात्र होइन, फाइनल जित्ने पनि लक्ष्य राखेका थियौं । तर अफसोस त्यो हुन सकेन’, उनले भने ।प्रशिक्षक सान्तोसले अहिले नै पद छोड्नेबारे कुनै निर्णय नलिएको बताए छन् । यस्तै, उनले रोनाल्डो टोलीमा नराख्दा र उनीसँग मिडियामा जोडिएको चर्चाका कारण टोलीलाई कुनै असर नगरेको बताए ।
उनी भन्छन्, ‘रोनाल्डोको कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन । हामी एकतृत भएर नै अघि बढेका छौं । आजको हारले सबैभन्दा बढी असर गरेको रोनाल्डो र मलाई नै होला । हामी दुई नै सबैभन्दा बढी दुखि छौं । त्यसैले पनि उनले आफ्नो भावना रोक्न सकेनन् ।’