फ्रान्स विश्वकपको सेमिफाइनलमा, बनायो नयाँ कीर्तिमान

काठमाडौं ।

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इङ्ल्यान्ड फेरि एक पटक विश्वकपको क्वार्टरफाइनलमा अभागी सावित भएको छ ।

फ्रान्सका थियो हर्नान्डेजले एयर बल पछ्याइरहेका मेसन माउन्टलाई बल आउनुअघि नै लडाएपछि भिडियो सहायक रेफ्री (भिएआर)मार्फत प्राप्त पेनाल्टीमा केनले ८४औं मिनेटमा गरेको प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएको थियो ।

पेनाल्टीमै एक गोल गरिसकेका केनले एउटै खेलमा प्राप्त दोस्रो पेनाल्टी खेर फालेपछि इङ्ल्यान्ड कतारको दोहामा जारी फ्रान्सविरुद्धको अन्तिम आठ भिडन्तमा २-१ ले पराजित हुँदै घर फर्कियो ।

त्यसअघि दोस्रो हाफमै प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले खेल १-१ को बराबरीमा ल्याएका थिए । बुकायो साकालाई औरेलियन टिचुआमेनीले लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले ५३औं मिनेटमा इङ्ल्यान्डको लगातार दोस्रो विश्वकपमा सेमिफाइनल पुग्ने आशा जीवित राखेका थिए ।

त्यही गोलसँगै केन इङ्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानमा पूर्व कप्तान वायन रुनीसँग ५३ गोलका साथ बराबरी बराबरी गर्न सफल भएका थिए ।

दोहास्थित अल बायात रंगशालामा टिचुआमेनीकै गोलमा साविक विजेता फ्रान्सले १८औं मिनेटमा अग्रता लिएको थियो । जसमा ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

जारी प्रतियोगितामा जिरौडको यो चौथो गोल हो । यो गोलसँगै जिरौड १९९० को विश्वकपमा क्यामरुनका रोजर मिल्लाले ३८ वर्षको उमेरमा चार गोल गरेपछि विश्वकपको एकै संस्करणमा चार गोल गर्ने ३६ वर्षमाथिको पहिलो खेलाडी बने ।

साथमा उनी फ्रान्सको लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानमा उनले पूर्व स्ट्राइकर थिएरी हेनरीलाई उछिनेका छन् । हेनरीले फ्रान्सका लागि ५१ गोल गरेका थिए भने जिरौडको कुल अन्तर्राष्ट्रिय गोलसंख्या ५२ पुगेको छ ।

फ्रान्सको जितमा टिचुआमेनी र जिरौडले गोल गरे पनि दुवै गोलका लागि अवसर सिर्जना गर्ने काम भने एन्टोनी ग्रिजम्यानले गरेका थिए ।

जारी प्रतियोगिताका पाँच खेलमा इङ्ल्यान्डले सुरुमा गोल खाएको यो पहिलो पटक हो । अघिल्ला चार खेलमा अपराजित रहेको टोलीले समूह चरणमा अमेरिकाविरुद्ध गोलरहित बराबरी नतिजा निस्किएको वाहेक सबै खेलमा पहिला गोल गरेको थियो ।

समूह चरणमा इरानमाथि ६-२ को जित हासिल गर्दा इङ्ल्यान्डले ६२ मिनेटमा ४-० को अग्रता लिएको थियो । दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको टोलीले अन्तिम खेलमा वेल्समाथि ३-० को जित हासिल गरेको थियो । यसैगरी अन्तिम १६ मा सेनेगललाई ३-० हराएको टोली प्रतियोगितामा अपराजित थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

पोर्चुगलका प्रशिक्षक सान्तोस भन्छन हारको मुख्य दोषी रोनाल्डो!

Sun Dec 11 , 2022
काठमाडौं। फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् ।सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु […]

You May Like

error: