काठमाण्डौ।
विश्वकपबाट बाहिरिएपछि ब्राजिलका खेलाडी नेइमार रोएको तस्वीरले धेरैलाई भावुक बनाएको छ ।३० बर्षिय नेइमारले क्रोसियाविरुद्ध गोल गर्दै महान फुटबलर पेलेको रेकर्डको बराबरी गरेका थिए । तर त्यो खुशी धेरै बेर टिक्न सकेन ।
क्रोसियाले जवाफी गोल मात्र गरेन पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउदै अगाडी बढ्यो भने ब्राजिल फेरी अर्को पटक क्वाटरफाइनलबाटै विश्वकपको यात्रा अन्त्य भयो । तर धेरैले नेइमारले शुरुमै पेनाल्टी नहानेको भन्दै प्रशिक्षक र स्वयं नेइमारको समेत आलोचना गरेका छन् ।
नेइमारले ब्राजिलका लागि ७७औं गोल गर्दै महान खेलाडी पेलेको गोलको बराबरी गरेका हुन् । नेइमारले ब्राजिलका लागि १२४ खेलमा ७७ गोल गरेका छन् । ब्राजिलका महान खेलाडी पेलेले ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए ।
खेलपछि विशेष गरि नेइमार धेरै नै भावुक देखिए । यसैबीच महान खेलाडी पेलेले नेइमारलाई सामाजिक सञ्जालमा एक सन्देश लेखेका छन् ।
पेलेले नेइमारलाई नतिजा आफ्नो पक्षमा नभए पनि तिमि लाखौं करोडौ युवाको प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन् । पेलेले आफ्नो किर्तिमान ५० बर्षसम्म कायम रहेको उल्लेख गर्दै कसैले पनि त्यसको नजिकसम्म पुग्ने प्रयास गरेको थिएन भन्दै यो अहिले तिमीले त्यसलाई बराबरी गर्नु नै ठुलो उपलब्धि भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘ मैले तिमीलाई ठुलो हुदै गरेको देखेको छु । मैले हरेक दिन तिम्रो लागि कामना गर्दछु । ब्राजिलको लागि मेरो गोल संख्या तिमीले बराबरी गरेकोमा म तिमीलाई बधाई दिन चाहन्छु । हामि दुवैलाई थाहा छ, यो संख्या मात्र भन्दा धेरै ठुलो कुरा हो । खेलाडीको रुपमा हाम्रो पहिलो कर्तव्य प्रेरणा दिनु हो । अहिले तिमीले अहिलेको पिढी, आउदो पिढी र सबैलाई प्रेरित गर्ने समय हो ।’
अहिले नेइमारले अब ब्राजिलका लागि कति समय खेल्छन् भन्ने स्पष्ट रहेको छैन । उनले पनि यस बारेमा स्पष्ट कुरा गरेका छैनन् । ब्राजिलका डिफेन्डर डानी आल्भेजले विश्वकपपछि नेइमारको बारेमा टिप्पणी गर्दै उनले ब्राजिलका लागि अझै धेरै गर्न बाँकि रहेको उल्लेख गरेका छन् । तर नेइमार अर्को विश्वकपसम्म खेल्छन् या खेल्दैनन त्यो भने अहिले अन्योलनै रहेको छ ।