काठमाडौं।
नेपालका स्टार स्ट्राइकर अञ्जन बिष्टले विगत लामो समयदेखि घरेलु फुटबलमा व्यस्त हुन नसक्दा खेलाडी पलायत लगायत घर धान्न गाह्रो भएको भन्दै दुःखेसो व्यक्त गरेका छन्।
उनले बिहीबार राती सोसल मिडिया फेसबुकमा लामो स्टाट्स लेख्दै आफूले फुटबल खेल्ने बेला चुपचाप टिभीमा अरुको खेल हेर्न विवश भएको भन्दै एन्फा (अखिल नेपाल फुटबल संघ) पदाधिकारीको आलोचना गरेका छन्।
उनले भनेका छन्, ‘एउटा राम्रो फुटबल खेलाडी बनि नेपालको जर्सी लगाएर देशको लागि खेल्ने सपना बोकी आफ्नो सम्पूर्ण मेहनत लगाएर आज यो ठाउँसम्म पुगेको छु। यो क्रममा पढाईलाई निरन्तरता दिन सकिएन, फुटबल बाहेक अर्को केही बाच्ने आधार पनि रहेन।’
अहिले कतारमा विश्वकप सञ्चालन भइरहदा एन्फा पदाधिकारीलाई दशैं आएको जस्तो भएको छ। दिनहुँ एन्फा पदाधिकारीहरू कतार पुगेका छन्। तर, नेपालमा फुटबल सुचारु गर्ने सम्बन्धमा एन्फा नेतृत्व गम्भीर देखिदैन। लिग आयोजनाका लागि वर्तमान नेतृत्वसँग कुनै ठोस योजना नभएको भन्दै आलोचना हुन थालेको छ।
बिहीबार मात्र लिग सञ्चालनका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद्सँग ६ करोड रुपैयाँ माग गरेको थियो। उसले दुई पल्ट लिगको घोषित समय सारिसकेको छ।
अञ्जनले आफ्नो स्टाट्समा एन्फा नेतृत्वलाई प्रश्न गरेका छन्, ‘नेपालमा फुटबल हुने भनेको काठमाडौं हो। पछिल्लो ५–६ वर्षमा मुस्किलले २ वर्ष फुटबल खेलियो होला र फुटबल खेले बापत पाउने पारिश्रमिक पनि जति खेलियो त्यति नै हो। यस्तो स्थितिमा काठमाडौंमा बसी आफू बाच्नु पर्यो, आफ्नो परिवार पाल्नुपर्यो, अनि कसरी नेपालमा सधै अभाव नै अभावमा, राम्रो हुने आशमा बस्न सकिन्छ, भन्नु त?
उनले लिग सुचारु नहुँदा नेपाली खेलाडीहरूको विदेश पलायन नरोकिएकोमा चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘भर्खरै राष्ट्रिय टिममा परेका, धेरै समयदेखि नेपालका लागि खेलिरहेका र ए डिभिजन लिग खेलिरहेका मेरा भाईहरू, दाईहरू, साथीहरू विदेशिएको देख्दा असह्रय पिडा महसुस भइरहेको छ। र सायद यस्ता गाह्रो परिस्थितिका बीच उहाँहरू अन्तिम विकल्पको रूपमा नै विदेसिनु भएको हो, आफ्नो र आफ्नो परिवारको लागि कुनै रहरले होइन।’