काठमाडौं ।
क्रिष्टियानो रोनाल्डोले विश्वकप टिम छाड्ने धम्की दिएको दाबीलाई पोर्चुगल फुटबल फेडेरेसन (एफपीएफ)ले खण्डन गरेको छ ।
पोर्चुगिज अखबार रेकर्डले ३७ वर्षीय सुपरस्टार रोनाल्डोले विश्वकप अन्तिम १६ अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा आफूलाई सुरुदेखि नखेलाए टिम छाड्ने धम्की दिएको दाबी गरेको थियो ।
दक्षिण कोरियाविरुद्धको अघिल्लो खेलमा पोर्चुगलका यी कप्तानले सब्स्टिच्युड गरिएकोमा रिसाएको व्यवहार प्रदर्शन गरेका थिए । एफपीएफले भनेको छ, ‘क्रिष्टियानो रोनाल्डोले कतारमा रहँदाका समयमा कहिल्यै पनि राष्ट्रिय टिम छाड्ने धम्की दिएका छैनन् ।’
पाँचपटकका बेलोन डी’ओर विजेता रोनाल्डोले विश्वकपअघि एक विवादास्पद अन्तर्वार्ता दिँदा म्यानचेस्टर युनाइटेड छाड्नुपरेको थियो । विश्वकपमा पोर्चुगलका सुरुवाती दुवै खेलमा रोनाल्डोलाई सब्स्टिच्युड गरिएको थियो ।
दक्षिण कोरियासँग २–१ ले हारेको खेलमा सब्स्टिच्युड गरिएकोमा रोनाल्डोको व्यवहार आफूलाई मन नपरेको प्रशिक्षक फर्नान्डो सान्तोषले बताएका थिए ।
स्वीट्जरल्याण्डसँगको खेलमा सान्तोषले रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई राखिएको थियो । २१ वर्षीय यी युवा खेलाडीले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो ।
रोनाल्डो पोर्चुगलका सबैभन्दा अनुभवी खेलाडी हुन् । जसले देशका लागि १९५ खेलमा ११८ गोल गरेका छन् । उनी राष्ट्रिय टिमका लागि सर्बाधिक गोल गर्ने खेलाडीसमेत हुन् ।
सो खेलमा उनलाई अन्तिमतिर मैदान पठाइएको थियो । खेल जितेपछि अरु खेलाडी मैदानमा खुसी मनाइरहँदा उनी थिएनन् । ‘क्रिष्टियानोले राष्ट्रिय टिम र देशका लागि एक अद्वितीय कीर्तिमान बनाएका छन् ।
त्यसको सम्मान गर्नुपर्छ,’ पीएफएफले भनेको छ । शनिबार विश्वकप क्वाटरफाइनलमा पोर्चुगलले मोरक्कोसँग खेल्नेछ । रोनाल्डोले मंगलबारको खेलपछि टिमको प्रशिक्षणमा सहभागिता जनाएका छैनन् ।