काठमाडौँ ।
स्विजरल्यान्डविरुद्धको खेलअघि विश्वभरका फुटबल समर्थक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका चर्को चर्चा गरिरहेका थिए । तर, जब खेलको अन्तिम ‘ह्विसिल’ बज्यो, रोनाल्डोलाई बिर्साउँदै चर्चाको अर्को पात्र बनेका थिए– गोन्कालो रामोस ।
विश्वकपमा रोनाल्डोले आठ गोल गरेपनि यी सबै विश्वकपको लिग चरणमा गरेका गोल हुन् । अर्थात् उनले विश्वकपको नकआउट चरणमा ६ खेल खेलेपछि गोलको खाता भने खोल्न सकेका छैनन् । तर, रामोसले पहिलो नकआउट खेलमै तीन गोल गरिसकेका छन् ।
रामोस, जो बेन्फिकाको युवा एकेडेमीबाट उदाएका थिए । मंगलबार स्विजरल्यान्डविरुद्ध पहिलो रोजाइमै मैदान उत्रिनुअघि रामोसले पोर्चुगलबाट कुल ३३ मिनेटमात्र खेल्न पाएका थिए ।
यसअघि नोभेम्बरमा नाइेजेरियासँग भएको मैत्रीपूर्ण खेलमा २३ मिनेट मौका पाएका रामोसले एक गोल गरेका थिए । विश्वकपमै उनले समूह चरणको खेलमा घानाविरुद्ध दुई मिनेट र उरुग्वेविरुद्ध आठ मिनेट मौका पाएका थिए ।
एक खेल अगावै पोर्चुगल नकआउट चरणमा छनोट भइसकेपछि दक्षिण कोरियाविरुद्धको खेलमा उनले मौका नै पाएनन् । यो खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो ।
तर, प्रशिक्षक सान्तोसले उनलाई विश्वकपको नकआउट चरणमा पहिलोपटक पहिलो रोजाइमा नै मौका दिए । र, उनले यसलाई खेर जान दिएनन् र वर्षेदेखि आफू केन्द्रित रहेको कुरालाई सही समयमा प्रमाणित गरे ।
बेन्फिकाबाट यस सिजन २१ खेलमा १४ गोल र ६ असिस्ट गरेका रामोसले क्लबका पछिल्लो ६ खेलमा सात गोल गरेका थिए । यसले पनि रामोस विश्वकपको यो ‘स्टेज’ मा आफूलाई प्रमाणित गर्न पूर्ण आत्मविश्वासी रहेको देखाउँछ ।
जसरी रामोसले विश्वकपको सुरुवात गरे, उनले यो सपनामा पनि सोचेका थिएनन् । उनी सन् २००२ पछि पहिलो रोजाईमा रहँदै ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । यसअघि २००२ मा जर्मनीका मिरोस्लाभ क्लोजले सुरुवाती रोजाइमा मैदान उत्रिँदै ह्याट्रिक गरेका थिए ।
विश्वकपमा १६ गोल गरेका क्लोज विश्वकपको अहिलेसम्मका उच्च गोलकर्ता हुन् । अन्तिम–१६ मा असाधारण प्रदर्शन गरेसँगै पक्कैपनि रामोसलाई स्विजरल्यान्डविरुद्ध आफूले सतप्रतिसत दिएको महसुस भएको हुनुपर्छ । र, सम्भवतः क्वार्टरफाइनलमा मोरोक्कोविरुद्ध पनि उनी पहिलो रोजाइमा पर्नेछन् ।