काठमाडौं।
कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अघि ब्राजिललाई चोटले तनाव दिएको छ। मुख्य खेलाडी नेयमार घाइते भएर मैदानमा उत्रन नसकेको अवस्थामा थप २ खेलाडी पनि घाइते भएका छन्। नेयमारसँगै चोट बोक्ने खेलाडीको संख्या ४ पुगेको छ।
स्ट्राइकर ग्राबियल जिसस र डिफेन्डर एलेक्स टेसाल घाइते भएका हुन्। समूह चरणको अन्तिम खेलमा क्यारुनविरुद्ध मैदान उत्रदाँ उनीहरु घाइते भएका हुन्। उनीहरु दुबैले कतार विश्वकपका आगामी खेलहरु गुमाउने बताइएको छ।
अब ब्राजिलले नकआउट चरणको पहिलो खेल एसियाली टिम दक्षिण कोरियासँग खेल्दैछ। मुख्य खेलाडी नेयमार घाइते भएर खेल्ने–नखेल्ने भन्ने तय भइनसकेको अवस्थामा थप २ खेलाडी घाइते भएपछि ब्राजिलियन टिममा तनाब बढेको छ।
यता कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।साविक विजेताले फ्रान्सले अल थुमामा स्टेडियममा पोल्याण्डको सामना गर्नेछ । फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ।
फ्रान्स आज पोल्याण्डलाई हराउँदै उपाधि रक्षाको यात्रालाई कायम राख्न चाहन्छ । पोल्याण्ड पनि फ्रान्सलाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।समूह ‘डी’ बाट फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । पोल्याण्ड समूह ‘सी’ को उपविजेता बनेको थियो ।
फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज आइतबार इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ ।इंग्ल्यान्डले अल बायत स्टेडियममा सेनेगलको सामना गर्नेछ । इंग्ल्यान्ड र सेनेगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।इंग्ल्यान्ड आज सेनेगललाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । विश्वकपको राउण्ड अफ १६ को ७ खेलमा इंग्ल्यान्ड ५ खेलमा विजयी भएको छ ।
यस्तै अफ्रिकन राष्ट्रविरुद्ध इंग्ल्यान्ड अपराजित रहेको छ ।यता, सेनेगल पनि इंग्ल्यान्डलाई हराएर क्वाटरफाइनलमा पुग्ने योजनामा रहेको छ । विश्वकपमा युरोपियन राष्ट्रविरुद्ध सेनेगलले ३ खेलमा जित, २ खेलमा हार र एक बराबरी खेलेको छ ।