रोमाञ्चक खेलमा घानाले दक्षिण कोरियालाई हरायो,यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

अफ्रिकी प्रतिद्धन्द्धी घानासँग ३-२ को नतिजामा पराजय भोगेपछि एसियाली महारथी दक्षिण कोरियाको कतार विश्वकपको नकआउट चरण पुग्ने सम्भावना पातलिएको छ ।पहिलो खेलमा दुई पटकको पूर्व विजेता उरुग्वेसँग गोलरहित बराबरी खेलेको दक्षिण कोरिया यो हारपछि एक अंकका साथ समूहको पुछारमा थन्किएको छ ।

२००२ मा आफैले आयोजना गरेको विश्वकपको सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाले सुरुमा दुई गोल खानाका बावजुद दोस्रो हाफमा उत्कृष्ट पुनरागमन जनाउँदै खेल बराबरीमा ल्याएको थियो । तर मोहम्मद कुडोसले समय सकिन २१ मिनेट बाँकी रहँदा निर्णायक गोल गरेपछि घाना जितको लायक बन्यो ।

पहिलो खेलमा पोर्चुगलसँग ३-२ को नतिजामा पराजित घाना भने जितपछि तीन अंकका साथ तालिकाको दोसे स्थानमा उक्लिएको छ । तथापि टोलीले नकआउट चरण पुग्नका लागि भने शुक्रबार राति हुने अन्तिम खेलमा उरुग्वेसँग आफूअनुकुल नतिजा निकाल्न सक्नुपर्नेछ ।

समूह ‘एच’अन्तर्गतको दोस्रो चरणमा आजै राति पोर्चुगल र उरुग्वेबीच खेल हुनेछ । उक्त खेलमा जित हासिल गरे पोर्चुगल समूहको एक खेल अगावै नकआउट चरण पुग्नेछ । त्यसो हुँदा दोस्रो टोलीका रुपमा अन्तिम १६ पुग्नेको टुंगो शुक्रबार हुने अन्तिम खेलले लगाउनेछ । आज रातिको खेलमा उरुग्वेको जित वा बराबरी नतिजा निस्किए नकआउट चरण पुग्ने दुवै टोलीको निर्णय अन्तिम चरणको खेलबाट हुनेछ ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार घानाले उरुग्वे तथा दक्षिण कोरियाले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन् ।दोहास्थित एजुकेसन सिटी रंगशालामा घानाले सोमबार पहिलो हाफमै दुई गोलको अग्रता लिइसकेको थियो । भिडभाडमा प्राप्त बललाई २४औं मिनेटमा मोहम्मद सालिसुले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए ।

जोर्डन आयुको क्रसमा मोहम्मद कुडोसले हेड गोल गर्दै टोलीको अग्रता ३४औं मिनेटमा दोब्बर पारे ।दोस्रो हाफमा दक्षिण कोरियाले खेलमा फर्किने भरमग्दुर प्रयास गर्यो । तर ५२औं मिनेटमा ग्यु सङ चोको हेड प्रहार विपक्षी गोलपिकर लरेन्स अटी जिगीलाई छिचोल्न सफल नहुँदा एसियाली टोली निराश बनेको थियो ।

जिन सु किमको क्रसमा ग्यु सङ चोको उत्कृष्ट हेड प्रहार लरेन्सले उत्कृष्ट पारामा जोगाएका थिए । दक्षिण कोरियाली खेलाडीका तर्फबाट जारी विश्वकपमा पोष्टभित्र भएको त्यो नै पहिलो सट थियो ।

पहिलो प्रयासमा असफल भएका चोले त्यसपछि दुई गोल गरेर दक्षिण कोरियालाई खेलमा फर्काए । बैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान छिरेका काङ इन लीको क्रसलाई चोले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै दक्षिण कोरियाको आशा कायम राखे । मैदान छिरेको तीन मिनेट नबित्दै मैदानको वायाँ भागबाट लीले गरेको क्रसलाई चोले गोलमा परिणत गरेका थिए ।

ओभरल्यापमा तिब्र गतिमा अघि बढेका लेफ्ट ब्याक जिन सु किमको ब्याक क्रसमा चोले उत्कृष्ट डाइभिङ हेडमार्फत दोस्रो व्यक्तिगत गोल गर्दै ६२औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

त्यतिमै खेलको रोमाञ्च सकिएन । त्यसपछि पुनः घानाले कुडोसको व्यक्तिगत दोस्रो गोलमार्फत ६९औं मिनेटमा खेलमाथिको पकड कायम राख्यो । गिडोन मेन्साको क्रसमा इनाकी विलियम्सले ट्याप गर्न खोज्दा फुत्किएको बललाई कसैको निगरानीमा नरहेका कुडोसले सहज गोलमा परिणत गरेर घानालाई तीन अंक दिलाएका थिए ।

खेलमा फर्किने प्रयासस्वरुप दक्षिण कोरियाको तर्फबाट थप प्रयास भए । ७५औं मिनेटमा पेनाल्टी बक्सभन्दा थोरै बाहिर प्राप्त फ्रिकिकमा जिन सु किमले कुना च्यापेर गरेको उत्कृष्ट प्रहार विपक्षी गोलकिपर लरेन्स अटी जिगीले मुस्किलले जोगाए ।

दक्षिण कोरियाले दोस्रो हाफमा पाएका थप अवसरमा टोलीका मुख्य खेलाडी सन ह्युङ मिन तथा जिन सु किमहरु चुक्दा टोली कम्तिमा बराबरीको अवसरमा चुक्यो भने इन्जुरी समयमा चोको एउटा कडा प्रहार विपक्षी गोलकिपरले जोगाए ।

सम्बाददाता

Leave a Reply

Next Post

नेइमार बिना पनि बलियो टोली स्विट्जरल्याण्डमाथि ब्राजिलको कठिन जित,ब्राजिल नकआउट चरणमा

Mon Nov 28 , 2022
काठमाडौं। कतारमा जारी विश्वकपमा स्विट्जरल्याण्डमाथि जित निकाल्दै ब्राजिल जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्न सफल भएको छ ।कतारको स्टेडियम ९७४ मा सोमबार भएको समूह ‘जी’ को खेलमा ब्राजिलले स्विट्जरल्याण्डमाथि १–० गोल अन्तरको जित निकाल्दै एक खे अगावै राउण्ड अफ १६ मा स्थान सुरक्षित गरेको हो । ब्राजिललाई जित […]

You May Like

error: