काठमाडौं ।
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् ।अन्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।
आजको गोलसँगै अन्जनले नेपालका लागि यो ११ औं अन्तराष्ट्रिय गोल गरेका छन्। अन्जनले आज नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कासँग गोल संख्या बराबर गरेका छन्।यस अघि हरीले नेपालका लागि ११ गोल गरेका थिए।
अब अन्जन अघि सर्वाधिक गोल गर्ने सूचीमा निराजन रायमाझी रहेका छन्।उनले नेपालका लागि १३ गोल गरेका छन् ।यसअघि असोजमा भएको बगंलादेशसँगको मैत्रीपूर्णमा खेलमा अन्जनले ह्याटिक गरेका थिए।
यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् ।
दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो । यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।
आवास लामिछानेको राष्ट्रिय टिममा डेब्यु
फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् ।
उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । गत सिजन ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेको र क्षमता भएको खेलाडी भएकाले आवासलाई टिममा राखेको प्रशिक्षक प्रवेश कटुवालले बताएका थिए । आवासले एपीएफ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।
नेपाल र पाकिस्तानबिच अहिलेसम्म १६ वटा खेल भएको छ जसमा पाकिस्तानले ७ पटक नतिजा आफ्नो पक्षमा पारेको छ भने नेपालले चार खेल जितेको छ। बाँकी खेलहरु बराबरी नतिजामा टुङ्गिएको थियो ।
नेपालले पाकिस्तानसँग सन् २०१८ मा बंगलादेशको राजधानी ढाकामा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो ।
नेपालले घरेलु मैदान दशरथ रंगशालाम आफ्नो ५० औं अन्तर्राष्ट्रिय खेल समेत खेलिरहेको छ । पाकिस्तान ३ वर्ष फिफाले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक अन्तराष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।