काठमाडौं ।
नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज दोस्रो खेल आज बिहीबार हुदैछ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपुर्ण रहेको छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउन चाहन्छ । आजको खेलमा नेपालले प्लेईङ-११ मा केहि परिवर्तनको सम्भावना रहेको छ ।
ओपनरका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद तथा अर्का ओपनरमा आसिफ शेख रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा पहिलो खेलमा मौका पाए पनि ब्याटिङमा योगदान दिन नसकेका ज्ञानेन्द्र मल्लको स्थानमा कुशल भुर्तेलले मौका पाउने सम्भावना रहेको छ । चौंथो नम्बरमा पहिलो खेलमा नेपालका कप्तानका रुपमा डेब्यु गरेका रोहित कुमार पौडेल रहने छन् । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ ।
नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटर तथा मध्यम गतीका बलर समेत रहेका मोहम्मद आदिल आलम सातौं नम्बरमा रहने सम्भावना रहेको छ ।
विस्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसीको स्थानमा कमलसिंह ऐरीलाई खेलाउने सम्भावना रहेको छ। करण पनि पहिलो खेलमा निकै महँगा साबित भए। आठौं स्थानमा कमलसिंह ऐरीलाई मौका दिने सम्भावना रहेको छ ।
तिब्र गतिका बलर सोमपाल कामी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा तिव्र गतिका बलर गुल्सन झाको सम्भावना रहँदा एघारौं नम्बरमा ललित राजबंशीको सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
अर्जुन साउद(विकेटकिपर),आसिफ शेख,कुशल भुर्तेल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,कमलसिंह ऐरी ,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी