काठमाडौं।
नेपाल र पाकिस्तानबीच आज बुधबार दशरथ रङ्गशालामा एक अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। पाकिस्तानले ३ वर्षपछि अन्तरराष्ट्रिय खेलमा पुनरागमन गर्दा नेपाल भने घरेलु मैदानमा पाकिस्तानविरुद्ध आफूलाई बलियो प्रमाणित गर्न चाहन्छ।
पाकिस्तानले पछिल्लो पटक सन् २०१९ मा अन्तरराष्ट्रिय फुटबल खेलेयता फिफाको प्रतिबन्धमा परेको थियो। त्यसपछि पहिलो पटक मैदानमा उत्रिँदा पुरानो प्रतिद्वन्द्वी नेपालविरुद्ध एउटा गतिलो टिमको संरचना बनाउने प्रयासमा पाकिस्तान हुनेछ।
पाकिस्तानका खेलाडीले यसबीच व्यक्तिगत रुपमा प्रदर्शनको अवसर पाए पनि टिम बनाएर फिफाका कुनै पनि घोषित प्रतियोगितामा सहभागिता जनाउन पाएको थिएन। त्यसैले पाकिस्तान आफ्नो बलियो टिम निर्माणलाई नेपालविरुद्धको खेललाई उपयोग गर्ने प्रयासमा हुनेछ।
‘पाकिस्तानविरुद्ध हामी हाम्रो घरेलु मैदानमा जित्नका लागि शतप्रतिशत प्रयास गर्छौं‚’ पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका रोहित चन्द भन्छन्‚ ‘मैले कप्तानको रुपमा पाएको अवसरलाई खुशीका रुपमा हेरेको छु। तर त्योभन्दा खुशी नियमित रुपमा देशका लागि खेल्न पाउनुमा लाग्छ।’
पहिलो पटक नेपाली राष्ट्रिय टिमलाई समहालेका प्रशिक्षक प्रवेश कटुवालले आफ्ना लागि राष्ट्रिय टिम समाल्ने मौकालाई अवसरका रहेको र यसलाई उपयोग गर्ने बताए।
उनले भने‚ ‘स्वाभाविक रुपमा नेपाली टिमको छनोटदेखि सबै अधिकार मेरो नै हो। त्यसैले यसको हार र जितको जस अपजस पनि मेरो नै हो। त्यसैले एउटा राम्रो टिम खेल खेल्दै सुखद नतिजाको प्रयास नै रहनेछ।’
त्यसो त पाकिस्तानका प्रशिक्षक सहजात अनवरले पाकिस्तानी फुटबल पछिल्लो समय संकटग्रस्त अवस्थाबाट गुज्रिएको भन्दै अब लयमा फर्किने विश्वास व्यक्त गरे।
उनले भने‚ ‘एन्फाले पाकिस्तानसँगको खेल आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु। पाकिस्तान एउटा खराब समयबाट गुज्रियो‚ अब हामी हाम्रो लय समाएर मैदानमा उत्रिनेछौं।’
पाकिस्तानी कप्तान हसन बसिरले पाकिस्तान एउटा दुःखद अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध पाकिस्तान टिम आफ्नो लय समाउने प्रयासमा हुने बताए।
उनले भने‚ ‘नेपालविरुद्धको खेल सहज हुने छैन। नेपालमा फुटबल फ्यानको निकै लोभलाग्दो उपस्थिति हुन्छ। त्यसैले जित्नका लागि खेल्नेछौं।’ दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपालविरुद्ध राम्रो खेल्ने पनि कप्तान बसिरले दाबी गरे।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेल भएका छन्। नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो। साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो।
पाकिस्तान बुधबार हुने खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। नेपाल पनि पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तरराष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ।
नेपाल र पाकिस्तानबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलको लाईभ प्रशारण कान्तिपुर टिभीले गर्ने भएको छ । साथै कान्तिपुर टेलिभजनको आधिकारिक युटुब च्यानल बाट पनि यसको लाईभ हेर्न सकिनेछ।