काठमाडौँ
टी-२० विश्वकप २०२२ को फाइनल खेलमा पाकिस्तान र इंग्ल्याण्ड (पाकिस्तान र इंग्ल्याण्ड) को टोली आमनेसामने भएका छन् । दुई टोलीबीचको यो खेल मेलबर्नको मेलबर्न क्रिकेट मैदानमा हुँदैछ ।
यो रोमाञ्चक खेलमा इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएका छन्। मेलवर्नस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
आइतबारको खेलमा जित हात पार्ने टोलीले दोस्रापटक टी२० विश्वकप क्रिकेटको उपाधि जित्नेछ। यसअघि पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले सन् २०१० मा टी२० विश्वकपको उपाधि जितिसकेका छन्।
यसपटककको विश्वकपमा दुवै टोलीले महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गरेका थिए। त्यसैले फाइनल खेल कसको पक्षमा जाला भन्ने आकलन गर्न कठिन हुने देखिएको छ।
इंग्ल्याण्डले ब्याटिङमा आफूलाई अब्बल साबित गरेको छ भने पाकिस्तानले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ। त्यसैले आइतबारको खेल ब्याटिङ भर्सेस बलिङको हुन सक्छ।
आक्रामक ब्याटिङ प्रदर्शन गर्दै आएको इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध १७९ रनको योगफल तयार पारेको थियो भने सेमिफाइनलमा सनसनीपूर्ण ब्याटिङ गर्दै १६ ओभरमा नै १७० रन बनाएको थियो।
पाकिस्तानले पनि आक्रामक बलिङ प्रस्तुत गर्दै आएको छ। पाकिस्तानका मुख्य बलर शाहिन शाह अफ्रिदी र लेग स्पिनर शहाब खानले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै आएका छन्।
जारी विश्वकपमा कुनै पनि टोलीले पाकिस्तानविरुद्ध १६० भन्दा धेरै रन बनाउन सकेका छैनन्। यसबाट पनि पाकिस्तानको बलिङ आक्रमणबारे अनुमान गर्न सकिन्छ।
पाकिस्तानका यी दुवै बलरले समान १० विकेट लिएका छन्। ह्यारिस रउफले ६ तथा मोहम्मद वासिमले सात विकेट लिएका छन्। नासीम शाहले पनि ६ विकेट लिएका छन्। त्यसैले पनि आइतबारको खेलमा इंग्ल्याण्डको लागि पाकिस्तानको बलिङ टाउको दुखाइ बन्न सक्छ।
इंग्ल्याण्डको ब्याटिङमा पनि ओपरद्वय एलेक्स हल्स र जोस बटलर उत्कृष्ट लयमा छन्। यी दुई ब्याटरलाई आउट गर्नु आइतबारको खेलमा पाकिस्तानको चुनौती हुनेछ।
पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), शादाब खान, आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन शाह अफ्रिदी, शान मसूद। मोहम्मद हरिस।
इंग्ल्याण्डको टोलीः जोस बटलर (कप्तान), मोइन अली, एलेक्स हेल्स, ह्यारी ब्रुक, साम कुरान, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेभिड मलान, आदिल राशिद, फिल साल्ट, बेन स्टोक्स, टायमल मिल्स, डेभिड विली, क्रिस वोक्स, मार्क वुड ।