सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

काठमाडौं।

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज (बुधबार) पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलियाको सिड्नीमा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, २०२१ मा भएको टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको न्युजिल्यान्ड यो विश्वकपमा पनि पाकिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

जारी विश्वकपमा न्युजिल्यान्ड बलियो टिमको रूपमा प्रस्तुत भएको छ । समूह–१ को विजेता बनेको न्युजिल्यान्डले पाँच खेलबाट सात अंक बनाउँदै समूह विजेता बनेको थियो । सेमिफाइनल यात्राको क्रममा न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा नै आयोजक अस्ट्रेलियालाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

वर्षाको कारण दोस्रो खेलमा अफगानिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डले तेस्रो खेलमा श्रीलंकालाई ६५ रनले हराएको थियो । तर चौथो खेलमा इंग्ल्यान्डसँग २० रनले हारेको न्युजिल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ३५ रनले पराजित गर्दै सेमिफाइनल यात्र तय गरेको हो । न्युजिल्यान्ड यो विश्वकपमा सन्तुलित टिमको रूपमा देखा परेको छ ।

डेभोन कोनवे र फिन एलनले न्युजिल्यान्डको ओपनिङ ब्याटिङ गर्ने छन् । त्यसपछि तेस्रो नम्बरमा कप्तान केन विलियम्सन आउँदा मध्यक्रममा ग्लेन फिलिप्स, डरी मिचेल, जेम्स निशामले ब्याटिङ गर्नेछन् ।

ग्लेन फिलिप्सले श्रीलंकाविरुद्ध ६४ बलमा शतकसहित १०४ रन बनाएका थिए । बलिङमा पनि ट्रेन्ट बोल्ट, टिम साउथी, मिचेल साट्नर, लोकी फर्गुसन र इश सोधी पाकिस्तानलाई भारी पर्न सक्छ ।

यता, विश्वकपको समूह चरणबाटै बाहिरिन लागेको पाकिस्तान नेदरल्यान्ड्सले चमत्कार गरेपछि सेमिफाइनलमा पुगेको हो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने बाटो खुलेको थियो । समुह–२ को उपविजेता बनेको पाकिस्तानले पाँच खेललबाट ६ अंक बनायो ।

आफ्नो पहिलो खेलमा भारतसँग चार विकेटको हार र जिम्बाब्वेसँग एक रनको नमिठो पराजयले पाकिस्तानको भविष्य अस्पष्ट बनेको थियो । तर त्यसपछिका तीनै खेल पाकिस्तानले जित्यो ।

तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट, चौथो खेलमा दक्षिण अफ्रिकालाई ३३ रन र पाँचौँ खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सेमिफाइनल पुगेसँगै पाकिस्तानी टिममा नयाँ उत्साह जागेको छ ।

पाकिस्तानका ओपनिङ ब्याटिङ कप्तान बाबर अजाम र मोहम्मद रिजवानले गर्नेछन् । यी दुई ब्याटर क्रिजमा टिकिरहे न्युजिल्यान्डको हार पक्का जस्तै हो । तर जारी विश्वकपमा यी दुवै खेलाडीको ब्याट चलेको छैन ।

मध्यक्रममा शान मसोद, इफ्तिखर अहमद, मोहम्मद हरिस, हैदर अली छन् । शादव खान, मोहम्मद नवाज, मोहम्मद वासिम लगायतका ब्याटरले फिनिसिङ गर्नेछन् । बलिङतर्फ पाकिस्तान निकै बलियो मानिन्छ ।

चोटपछि विश्वकपमा खेल्न टिममा फर्किएका शाहिन शाह अफ्रिदी न्युजिल्यान्डका लागि टाउको दुखाई बन्न सक्छ । त्यस्तै, नासिम शाह, मोहमम्मद वासिम, हरिस राउफ शादव खान पनि उच्च लयमा छन् । सेमिफाइनलको अर्को खेलमा बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

भारतसँग सेमिफाइनल खेल्नु अघि इंग्ल्यान्डलाई ठूलो झड्का,टिमका प्रमुख दुई खेलाडी घाइते

Wed Nov 9 , 2022
काठमाडौं। आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा बिहीबार भारतसँग खेल्नुअघि उपाधि दाबेदार इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते भएका छन् । इंग्ल्यान्डका प्रमुख तीव्र गतिका बलर मार्क वुड मंगलबार अभ्यासको क्रममा घाइते भएका हुन् ।इंग्ल्याण्डको टोलीले प्रतियोगिताको शुरुवातमा पनि यस्ता धेरै झमेला झेल्नु परेको छ । डेभिड मलानको खेल […]

You May Like

error: