काठमाडौँ ।
बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।
आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले निर्धारित १८ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि ओपनर मोहम्मद रिजवान र बाबर अजामले ५७ रनको साझेदारी गरे। रिजवानले ३२ बलमा २ चौका र १ छक्का हान्दै ३२ रन बनाएर पवेलियन फर्के। कप्तान बाबर अजाम ३३ बलमा २ चौका हान्दै २५ रनमा आउट भए। मोहम्मद नजाव ४ रनमा रनआउट भए।
बंगलादेशका नसुम अहमद र इबादोत हुसेनले समान एक विकेट झारे। त्यसअघि एडिलेडस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रनको योगफल तयार पारेको थियो।
बाबर आजमले टोलीको प्रदर्शनको बारेमा ठूलो प्रतिक्रिया दिएका छन्। बाबर आजमले यो टिम गेम भएको बताए । क्रिकेट एउटा रमाइलो खेल हो। म मेरो टोलीले सबै खेल खेलेको तरिकाको प्रशंसा गर्छु।
पिचमा ब्याटिङ गर्न सजिलो थिएन। अलिकति डबल जम्प थियो। रिजवान र मैले लामो समयको लागि जाने निर्णय गरेका थियौ, तर दुर्भाग्यवश चीजहरू काम गरेनन्।
हरिसले आक्रामकता देखाए र उनलाई खेल्दै गरेको देखेर खुसी लाग्यो। सेमिफाइनलको पर्खाइ छ । हामी सबै सेमिफाइनलमा खेल्न उत्साहित छौं।
सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । पाकिस्तान ५ खेलमा ३ मा जित र २ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
भारत विजयी हुँदा समूह विजेता बन्नेछ । पराजित हुँदा उपविजेता बन्नेछ । पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ ।
फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।