काठमाडौं ।
नेपालले बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।
भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो । अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
यो पनि :वरियतामा ६७ औ स्थान अघि रहेको बलियो देशसंग मैत्रीपूर्ण खेल खेल्दै नेपाल, यस्तो छ खेलको मिति
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले मैत्रीपूर्णका लागि मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको थियो । टिमको प्रशिक्षण बुधबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
साथै नेपालले बलियो टोलि ताजिकिस्तान संग २० नोभेम्बर अर्थात मंसिर ४ गते अर्को मैत्रीपूर्ण खेल खेल्ने भएको छ। ताजिकिस्तान फिफा वरियतामा नेपालभन्दा ६७औ स्थान अघि रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार नेपालले ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको हो । ताजकिस्तान फुटबल संघले मंगलबार एन्फालाई ई–मेल मार्फत मैत्रीपूर्ण खेल खेल्नका निम्ति निमन्त्रणापत्र पठाएको थियो ।
सो विषयमा एन्फाले मंगलबार नै अनौपचारिक रुपमा नेपाली राष्ट्रिय फुटबल टोलिलाई मैत्रीपूर्ण खेल खेलाउन ताजकिस्तान पठाउने गरी छलफल गरिसकेको स्रोतले जानकारी दिएको छ ।
अहिलेको फिफा वरियतामा अनुसार ताजिकिस्तान १०८ औ स्थानमा छ भने नेपाल १७५ औ स्थानमा रहेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् ।