काठमाडौं।
आयोजक बंगलादेशले यू-१५ महिला साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।ढाकामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
यता साफमा उपाधि जित्ने नेपालको मुख्य लक्ष्य रहेको बताएको छ। नेपालले बंगलादेशमा आज देखि सुरु भएको साफ यू(१५ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको छ ।प्रतियोगिताको अघिल्लो दिन हिजो सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक भगवती थापा मगर र कप्तान दीपा रोकायले उपाधि जित्ने लक्ष्य रहेको बताए ।
दीपा रोकायको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगितामा भुटान र बंगलादेशसँग दुई(दुई पटक खेल्नुपर्नेछ । तीन टोली मात्र सहभागी प्रतियोगितामा डबल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।
नेपालकी प्रशिक्षक भगवती थापा मगरले प्रतियोगिता खेल्न पाउँदा सबै खुशी रहेको बताइन् । ‘हामी यस प्रतियोगिता खेल्न उत्साहित छौं र खुशी छौं । हामी प्रतियोगिता लागि तयार छौं र हामी जित्नेछौं,’ भगवतीले भनिन्, ‘हरेक खेल प्रतिस्पर्धात्मक हुनेछ ।’
यस्तै कप्तान दीपाले पनि प्रतियोगिता जित्ने लक्ष्यसहित खेल्ने बताइन् । ‘म एकदमै खुशी छु कि यस प्रतियोगिता खेल्दैछु । यस प्रतियोगिता जित्ने सोचमा छौं । हामी यहाँ जित्न आएका हौं,’ उनले भनिन् ।
प्रशिक्षक भगवतीले आफ्नो टिम शारीरिक र मानसिक रुपमा तयार रहेको बताए । ‘हामीले चार साता तयारी गरेका छौँ । हामी शारीरिक र मानसिक रुपमा तयार छौं । हामी बंगलादेशसँग साफ महिला च्याम्पियनसिपमामा बेहोरेको हारको बदला लिन चाहन्छौं ।’
देशभरबाट खुल्ला रुपमा खेलाडी छनोट गरेर बनाएको नेपाली टिमका खेलाडीहरु पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछन् ।टिम रहेका सबै खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो हुनेछ । प्रशिक्षक भगवती थापा मगरले पनि आफ्नो टिम नयाँ भएको बताइन् । उनले त्यहाँको मौसमका कारण केही कठिन हुने भएपनि राम्रो प्रदर्शनको आशा राखेकी छन् ।
‘हामी नयाँ छौं र सुरु गर्दैछौं । खेलाडीले राम्रो फुटबल खेल्ने विश्वास छ,’ भगवतीले भनिन्, ‘सबै खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । तातो मौसम हाम्रा लागि प्रतिकुल हुनसक्छ ।’