काठमाडौं।
नेपाल राष्ट्रिय फुटबल टोलीकी रक्षकर गीता राना भारतीय महिला लिग (आइलिग) क्लब सेथु एफसीसँग अनुबन्ध भएकी छिन् ।सेथुले आगामी सिजनका लागि गीतासँग सम्झौता गरेको हो । अघिल्लो दिनमात्रै नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सेथुसँग सम्झौता गरेकी थिइन ।
दुवै खेलाडीले भारतीय लिगको क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबले सम्झौता रकम भने गोप्य राखेको छ । बर्दिया जिल्लाकी गीता र पाँचथरकी एन्जिला दुवैका लागि आइलिग खेल्ने यो पहिलो अवसर हो ।
एन्जिलाको कप्तानीमा नेपालले गत महिना काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपमा भारतमाथि जित हासिल गरेको त्यो पहिलो अवसर थियो । यद्यपि, पाँचौ पटक फाइनल खेल्दा नेपाल बंगलादेशसँग स्तब्ध हुँदै घरेलु मैदानमा उपाधिबाट वञ्चित भयो ।
सम्झौतासँगै सेथुले एन्जिला र गीताको आउजाउ गर्ने हवाई खर्च बेहोर्ने छ भने अवश्यक ‘किट’ उपलब्ध गराउने छ । यस्तै, राष्ट्रिय टोलीको खेल परेको समयमा छुट्टि दिनेछ । सेथु सन् २०१८-१९ को आइलिग च्याम्पियन टोली हो ।
सन् २०२१-२२ मा भने सेथु उपविजेतामा सिमित भएको थियो । सेथुले पहिलो पटक लिग उपाधि जित्दा नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको टोलीलाई साथ थियो । त्यतिबेला दुवैले प्रभावशाली प्रदर्शन गरेका थिए ।
यसपछि सावित्रा गोकुलम केरेलामा अनुबन्ध हुँदा अनिता सेथुमै रहिन् ।यसअघि एन्जिला र गीता सहित सुरु लिम्बू र अनिता केसीले पाकिस्तान महिला लिग खेलेका थिए ।
भारतीय आई लिग क्लब सेथु एफसीले राष्ट्रिय महिला टिमकी कप्तान एन्जिलालाई एक सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ ।क्लबसँग निरन्तर छलफलमा रहेकी एन्जिलाको शुक्रबार मात्र क्लबसँग औपचारिक सम्झौता टुङ्गिएको हो । उनले क्लबसँग करिब ९ महिनाको सम्झौता गरेकी छिन् । ‘सम्झौता करिब ९ महिना जतिको छ ।