काठमाडौं।
आईसिसीले नेपाली क्रिकेट लिगलाई मान्यता दिएको छ।नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण आगामी मंसिर २६ गतेबाट सुरु हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।
क्यानले लिगको नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको समेत जनाएको छ ।क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी अल स्टार र फार वेस्टर्नले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता यस अघि असोज ८ बाट कात्तिक ५ सम्म हुने तालिका थियो । तर, सुरक्षाको कारण लिग केही समयका लागि सारिएको थियो । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता यथावत रहेको हो ।
नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो ।नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । यस्तै पाकिस्तान चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।
बंगलादेश विरुद्ध नेपालको शानदार जित
मंगलबार साँझ दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। बलियो मानिएको बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो। नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेका छन्।
उनी मोस्ट भ्यालुएबल प्लेयर पनि घोषित भएका छन्। यस्तै नेपालविरुद्ध बंगलादेशका सजाद होसेनले एक गोल फर्काएका थिए। ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।