काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टिमले भोलि मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
बंगलादेश विरुद्धको खेलका लागि अन्तिम टोली घोषणा गरेका प्रशिक्षक हुमागाईँले कप्तान घोषणा गरेका थिएनन । यसअघि कप्तान रहिसकेका गोलकिपर किरण टिममा फर्किएका छन् र अहिले उनलाई नै कप्तानीको जिम्मेबारी दिईएको छ । तर जेठमा कुवेतमा भएको एसियन कप छनोटमा नेपालको कप्तानी गरेका फरवार्ड नवयुग श्रेष्ठ टिममा छैनन ।
नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आईसकेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराएको थियो ।नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा रहेको छ ।
नेपाल र बंगलादेशबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा दर्शकहरुका लागि टिकट मूल्य तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै सो म्याचका लागि टिकट मुल्य निर्धारण गरेको हो ।
एन्फाका अनुसार नेपाल र बंगलादेश बीचको खेलमा दर्शकहरुका लागि सामान्यतर्फ पाँच सय र भिआईपीतर्फ १ हजार र ५ हजार दरको टिकट मुल्य निर्धारित गरिएको छ । साथै टिकट दशरथ रंगशालाबाट नै खरिद गर्न सकिने पनि एन्फाले जनाएको छ ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डीले गर्ने भएको छ।एक्सन स्पोर्ट्सले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण प्रत्यक्ष प्रशारण गरिने जनाएको छ।
बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।
नेपाली टोली–
गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु ।
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल ।
मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट ।
फरवार्डः विमल घर्तीमगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी ।