काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । मंगलबार बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ ।
घरेलु मैदान दशरथ रंगशालामा नेपालले बंगलादेशलाई हराउँदै घरेलु दर्शकलाई दसैँको उपहार दिने योजना बनाएको छ । नेपाल र बंगलादेश बीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । बंगलादेश विरुद्धको खेलमा ‘हेड टु हेड’ मा नेपाल निकै पछि छ ।
नेपालले पछिल्लो पटक बंगलादेश विरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालले बंगलादेशसँग घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा हराएको थियो ।
नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले नेपाल जितका लागि मैदान उत्रने बताए । दसैँको मुखमा घरेलु दर्शकलाई जितको उपहार दिन तयार भएको बताएका थिए ।
फरवार्ड विमल घर्तिमगरले आफूहरू बंगलादेशसँगको खेलका लागि उत्साहित भएको बताए । ‘उनीहरू निकै बलियो देखिन्छन् । तर हाम्रो अहिलेको टिम मिलेको छ । हामी पनि बलियो अवस्थामा छौँ । हामी जितका लागि खेल्नेछौँ,’ विमलले भने ।
यस्तै डिफेन्डर अनन्त तामाङले युवा खेलाडी र अनुभवी खेलाडीको सम्मिश्रणले टिमलाई राम्रो नतिजा दिलाउने बताए । उनले घरेलु दर्शकहरूको हौसलाले पनि टिम बलियो बन्ने बताए । ‘टिमको कम्बिनेसन राम्रो छ । युवा खेलाडीहरू उत्साहित छन् । घरेलु समर्थकहरूका अघि हाम्रो खेल राम्रो हुने अपेक्षा छ,’ उनले भने ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ खेल खेलेको छ । जसमा नेपाल धेरै कमजोर छ । बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । दुई टोलीबीचको ५ खेल बराबरीमा सकिएको छ ।