काठमाडौं ।
नेपालका दुई फुटबलर रुमेश बर्तौला र अमिर श्रेष्ठ सुरक्षित भविश्यको खोजीमा विदेशिएका छन् । मिडफिल्डर रुमेश र अमिर सुरक्षित भविश्यको लागि बिहीबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला दुई खेलाडी विदेशिएका हुन्। गत वर्षको ए डिभिजन लिगमा रुमेशले च्यासल युथ क्लब र अमिरले जावलाखेल युथ क्लबबाट खेलेका थिए ।
पछिल्लो समय नेपालका फुटबलरहरु अष्ट्रेलिया पलायनको लर्को लागेको छ । यस अघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन्।
कुवेत विरुद्ध गत जुन ११ तारीखका दिन उसकै घरमा ४० वर्षपछि ऐतिहासिक गोल गरेका युवा फरवार्ड दर्शन पनि सुनौलो भविष्यका लागि विदेशिएका थिए। २० वर्षिय दर्शन आफ्नो भविष्य सुनिश्चित गर्न अष्ट्रेलियातर्फ लागेका हुन् ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएका सन्तोष मिडफिल्डमा निकै प्रभावशाली मानिन्छन् । सन्तोषले कुवेतविरुद्धको मैत्रीपूर्ण खेलको ८१औं मिनेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । यस्तै नेपाली फुटबल टिमका अर्का डिफेन्डर नवीन गुरुङ पनि आफ्नो भविष्य सुनिश्चित गर्न अष्ट्रेलियातर्फ लागेका थिए ।
सन् १९८२ मा कुवेत विरुद्ध वाईबी घलेले गोल गरे यता कुनै नेपाली खेलाडीले कुवेती टोलीसँग गोल गर्ने सफलता हासिल गरेका थिएनन् । यद्यपि त्यो ऐतिहासिक उपलब्धीलाई दर्शनले जुन महिनामा कुवेती मैदान मै हात पारेर सबै नेपालीहरुको वाहवाही बटुलेका थिए ।
तर दुर्भाग्य मान्नुपर्छ, राम्रो लय र सम्भावना हुँदाहुँदै पनि नेपाली फुटबलमा भविष्य नदेखेपछि दर्शनले पनि विदेशिनुलाई उत्तम विकल्पका रुपमा रोजेको देखिन्छ । स्मरणीय छ, केहि महिना अघि मात्रै नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडी सुमन लामा र आशिष लामा पनि अष्ट्रेलिया पुगिसकेका छन् ।
दुई वर्ष अघि ढाकामा बंगलादेश विरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालका लागि डेब्यु गरेका दर्शन त्यसयता राष्ट्रिय फुटबल टोलीका सम्भावना बोकेका खेलाडीहरुमा गनिन थालेका थिए । तर उनको सम्भावना पनि अब फेरि अपुरो बन्ने निश्चित बनेको छ ।