दिपेन्द्र नेपालको कप्तान बन्ने बारे प्रशिक्षक मनोजले खोले ठूलो रहस्य

काठमाडौं ।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेसँगै नेपाली क्रिकेटमा भयानक रिक्तता पैदा भएको छ । उनीमाथि परेको मुद्दाले कुन मोड लिने हो भन्ने निश्चित नभएकाले तत्काल विकल्प खोज्नुपर्ने बाध्यतामा छ, नेपाल क्रिकेट संघ (क्यान) ।

गत पुसमा ज्ञानेन्द्र मल्ललाई प्रतिस्थापित गर्दै सन्दीप राष्ट्रिय टिमको कप्तान नियुक्त भएका थिए । अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो । उनीहरू दुवै अहिले राष्ट्रिय टोलीमा भए पनि पुरानो जिम्मेवारीमा छैनन् ।

सन्दीपको कप्तानीमा नेपालले मिश्रित नतिजा निकालिरहेको थियो । उनी बिस्तारै परिपक्व बन्दै गइरहेका थिए । व्यक्तिगत प्रदर्शनमा एकपछि अर्को उत्कृष्टता पस्किरहेका थिए । तर, अनायाशको बज्रपातले उनको व्यक्तिगत जीवन बिथोलिएको छ नै, सिंगै नेपाली क्रिकेट जगत् हल्लिएको छ । कप्तानका रूपमा भन्दा पनि खेलाडीका रूपमा सन्दीप राष्ट्रिय टिममा अत्यधिक मिस हुनेछन् ।

विगत आधा दशकदेखि सन्दीप नेपाली क्रिकेटका एक अभिन्न पात्र थिए । नेपालले प्राप्त गरेका हरेक अन्तर्राष्ट्रिय सफलतामा जोडिएका छन् उनी । क्रिकेटबाट उनले जति नाम कमाएको नेपाली खेलाडी अर्को छैन । तर, व्यक्तिगत जीवनको एउटा घटनाले उनको करिअर धराशायी बन्ने खतरा पैदा भएको छ ।

नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगै क्यानले उनलाई राष्ट्रिय टिमबाट हटाउन बाध्य भयो । त्यसैले अब नेपाललाई अर्को कप्तानको खोजी गर्नुपर्ने भएको छ । सन्दीप निलम्बनमा परेपछि र तत्काल टोलीमा फर्कने अवस्था कम देखिएपछि नेपाली टोलीको नयाँ कप्तान को बन्नेमा बहस सुरु भएको छ । युवा खेलाडीहरूको वर्चस्व रहेको टिममा क्यानसँग कप्तानका विकल्पहरू अत्यन्त सीमित छन् ।

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिलेको स्थितिमा नेपालको उत्कृष्ट कप्तान रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मनोज कटवालले बताएका छन् । दीपेन्द्रले आफ्नो पहिलो कप्तानीमै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा पुलिसलाई स्वर्ण जिताएपछि मनोजले उक्त प्रतिक्रिया दिएका हुन् ।

पुलिसले फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै क्रिकेटतर्फ पहिलो स्वर्ण जित्न सफल भयो । ‘पुलिसलाई पहिलो स्वर्ण जिताउन मलाई एकदमै खुसी लागेको छ । सातौं र आठौंमा हामी जित्न सकेनौं । यो पटक टोलीको टिम भावना र खेल राम्रो थियो । एकदमै सकारात्मक थियौं । हामीले दुई महिनादेखि कडा अभ्यास गरेका थियौं । हामीले खेलाडीलाई दिल्ली र मुम्बईमा अभ्यासको लागि पनि पठाएका थियौं । त्यसैको नतिजा हो जस्तो लाग्छ’, मनोज कटवालले भने ।

कप्तानको विकल्पको रुपमा दीपेन्द्र सिंह ऐरी छन । यसअघि टिमको उपकप्तान रहेका ऐरी ज्ञानेन्द्रसँगै कारबाहीमा परेका थिए । यद्यपि, खेलाडीको रूपमा उनले राष्ट्रिय टिमबाट आफ्नो स्थान गुमाएका छैनन् ।

ब्याटिङसँगै बलिङबाट पनि खेल जिताउन सक्ने भएकाले दीपेन्द्र अहिले नेपाली टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी मानिन्छन् । उनी टिमका सिनियर खेलाडी पनि हुन् । तर, कप्तानी दिने सवालमा उनीप्रति पनि क्यान पूर्वाग्रही नै छ ।

सम्बाददाता

Leave a Reply

Next Post

गौतम गम्भीरको फ्लप ब्याटिङका बाबजुद टिमले हात पार्यो ठूलो जित

Thu Sep 22 , 2022
काठमाडौँ । लखनउमा बुधबार भएको लेजेन्ड्स लिग क्रिकेट खेलमा इन्डिया क्यापिटल्सले भिलवारा किंग्सलाई ७८ रनले पराजित गरेको छ । दुई खेलमा इन्डिया क्यापिटल्सको यो पहिलो जित हो भने भिलवारा किंग्सले २ खेल खेल्दा पहिलो हार बेहोरेको छ । इण्डिया क्यापिटल्सका लागि सोलोमन मिर (८२) र ह्यामिल्टन मसाकाड्जा (४८)ले शतकीय साझेदारी […]

You May Like

error: