काठमाडौं।
साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजि गर्दै समूह विजेताको हैसियतामा सेमिफाइनल यात्रा तय गर्यो ।नेपालको जितमा अमिषा कार्कीले दुई गोल गर्दा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी र दीपा शाहीले समान एक गोल गरे ।
सहज जित निकाले पनि नेपालका मुख्य प्रशिक्षक कुमार थापा भने टिमले गोलका लागि देखाएको हतारोपनप्रति सन्तुष्ट देखिएनन् । खेलपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले टिम गोलका लागि हतारिएको यही अनुसार खेले सेमिफाइनलमा निकै गाह्रो हुने बताए ।
‘फाइनल्ली रेन इज ओभर । हामी गोल गर्न हतार भयौं । धेरै गोल गर्छौं भन्ने सोच्यौं । त्यसमा म खुसी छैन । तर, नतिजा राम्रो भयो । । ६ गोल गर्यौं । तर पनि यसरी नै खेल्ने हो भने सेमिफाइनलमा हामीलाई गाह्रो हुन्छ,’ थापा भन्छन् ।
थापा टिममा सावित्रा नहुँदा त्यसले कुनै हिसावले प्रभाव देखाउने भए पनि नेपाली टिम सावित्राबिना पनि आउने सबै चुनौती पन्छाउन तयार रहेका बताए ।
‘सावित्रा नहुँदा पनि हामी आउने परिस्थितीका लागि तयार छौं । सावित्राजस्तो खेलाडी टिममा सँगै हुन् भन्ने चाहना त हुन्छ । तर, हामी त्यो परिस्थितीका लागि पनि तयार छौं । हाम्रो प्रमुख रणनीति भनेको नै कम गल्ती गर्नु हो । त्यसमै केन्द्रित छौं । आज डिफेन्सको टेस्ट नै गर्न पाएनौं । भुटान र श्रीलंका दुवै धेरै दुख दिएनन् । तर, अबका टिमले दिन्छन् । र, यसका म र मेरो टिम तयार पनि छौं ।’
उनले बंगलादेश प्राविधिक रुपमा र भारत अनुभवका हिसाबले बलियो टिम भएको बताए ।‘प्राविधिका रुपमा बंगलादेश, भारत अनुभवी र घरेलु टिम नेपाल । हामी बंगलादेशको प्राविधिक पक्ष र भारतको अनुभवलाई लिएर हामी उपाधि जित्नेछौं ।’
खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिएकी रश्मीले प्रशिक्षकले दिएको मौकामा आफूलाई प्रमाणित गर्न सकेको बताइन् ।‘एकदमै खुसी लागेको थियो । प्रशिक्षकले मौका दिनुभयो र त्यसलाई प्रमाणित गर्न सके,’ रश्मीले भनिन् ।
यता, नेपालसँगको फराकिलो हारपछि श्रीलंकाका प्रशिक्षक चमिन्डा निल स्टेनवालले नेपाली टिम प्राविधिक रुपमा निकै बलियो रहेको बताए ।’नेपाली टिम निकै बलियो छ । हामीले धेरै गल्तिहरु गर्यौं । प्रशिक्षकको नाताले हारको जिम्मेवार म लिन्छु । हाम्रा खेलाडीहरुले सक्दो खेले । तर, नेपाली टिमको प्रदर्शन उत्कृष्ट रह्यो । दुवै खेलमा नेपालको राम्रो प्रदर्शन रह्यो । उनीहरु प्राविधिक रुपमा राम्रा थिए । कम्युनिकेशन, पास सबै कुरामा उनीहरु अब्बल रहे,’ प्रशिक्षक स्टेनवालले भने।
‘पेन्डामिक, देशमा चलिरहेको इकोनोमिक क्राइसिसका कारण हामीले साफका लागि केही हप्ताअघि मात्र प्रशिक्षण सूरु गरेका थियौं । नेपाली टिम अफेन्सिभ निकै राम्रो छ । यसैकारण दोस्रो हाफमा हामीले बक्सभित्र विपक्षी खेलाडीलाई मार्क गरेर राख्ने रणनीति थियो । केही हदसम्म यो सफल भयो ।’